चितवन र पर्सा निकुञ्ज अधिकतम १७५ बाघका लागि उपयुक्त

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटेबाघ । तस्बिर : राजु गुरुङ

काठमाडौँ – नेपालमा पाटेबाघको प्रमुख बासस्थानका रुपमा रहेको चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र अधिकतम १७५ वटा बाघका लागि उपयुक्त हुने एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय तथा वन्यजन्तु संरक्षण विभागले चितवन-पर्सा क्षेत्रमा गरेको इकोलोजिकल क्यारिङ्ग क्यापासिटी अफ रोयल बेंगोल टाइगर (पाटे बाघको पारिस्थितक बहन क्षमताको मूल्यांकन) अध्ययनमा चितवन र पर्सा क्षेत्रमा अहिलेको जैविक, भौगोलिक तथा पारिस्थितिक अवस्था अनुसार १७५ पाटे बाघका लागि सो क्षेत्र उपयुक्त भएको देखिएको हो ।

विश्वभर पाटे बाघको संख्या अति कम हुँदै गएको अवस्थामा सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्ममा संख्या दोब्बर पार्ने लक्ष्य निर्धारण गरेको थियो । सोही अनुसार नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्याउने गरी काम भइरहेको यो क्षेत्रमा लागेका संरक्षणकर्मीले बताएका छन् ।

विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ । नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेका छन् । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञहरु बताउँछन् । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

पछिल्लो पटक सन् २०१८ मा भएको गणनामा अनुसार नेपालमा बाघको संख्या २३५ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ रहेका छन् ।

यहि परिवेशमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संख्या बढाउने क्षेत्रमा प्रयास भइरहँदा पारिस्थितिक बहन क्षमताको विश्लेषणका लागि अध्ययन गरेको उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर बुधबार सार्वजनिक भएको अध्ययन प्रतिवेदन अुनसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रले १३६ तथा पर्सा राष्ट्रिय निकुञ्ज र त्यस आसपासको मध्यवर्ती क्षेत्रले ३९ वटा वयश्यक पाटे बाघलाई बहन गर्न सक्ने छ ।  चितवन निकुञ्जको ३७४.४ किलोमिटर तथा पर्सा निकुञ्जको २३२.७ किलोमिटर क्षेत्रमा अध्ययन भएको हो ।

बासस्थान, आहराको उपलब्धताको विश्लेषणगरी अधययनको निष्कर्ष निकालिएको अध्ययनका संयोजक डा. रामचन्द्र कँडेलले बताएका छन् । कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हुन् ।

बाघको पारिस्थितिक बहन क्षमताको मूल्यांकनका लागि टाइगर प्रेय स्पेसिज डेनसिटी (शिकार प्रजाति घनत्व) इस्टिमेशन र प्रेय बायोमास (जैविक पिण्ड) को विश्लेषण गर्ने विधिको प्रयोग गरिएको डा. कँडेलले जानकारी दिए ।

बायोमास विधिका आधारमा गरिएको अध्ययनमा चितवन पर्सा क्षेत्रमा कुल १७६ तथा डेनसिटी अर्थात घनत्वका आधारमा गरिएको अध्ययनमा कुल १७५ वयश्यक बाघको उपयुक्त हुने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तस्बिर साैजन्य : सागर गिरी, उनी वन्यजुन्तु फोटोग्राफर हुन्, उनी चितवनमा रहेर पर्यटन क्षेत्रमा पनि संलग्न छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा बायोमास विधिले १३८ तथा डेनसिटी विधिले १३६ बाघ उपयुक्त हुने देखिएको छ भने पर्सा निकुञ्जमा दुवै विधिबाट ३९ वटा वयश्क बाघ उपयुक्त हुने देखिएको हो ।

चितवन-पर्सा क्षेत्रका बाघ आवतजावत गर्ने भएकाले एकीकृत रुपमा अध्ययन गरिएको विभागले जनाएको छ । समथर क्षेत्र तथा चुरे क्षेत्रलाई भिन्दै रुपमा अध्ययन गरिएको हो ।

अध्ययन प्रतिवेदनका अनुसार एउटा वश्यक बाघलाई दिनमा ५ देखि ६ किलो मासु चाहिन्छ । यसअनुसार एक वर्षमा एउटा बाघका लागि दुई हजार किलो मासु चाहिने भएकाले सोही अनुपातमा शिकार प्रजाति हुनु पर्ने तथ्यलाई आधार मानेर अध्ययन गरिएको डा. कँडेलले जनाएका छन् ।

अध्ययनको अवधारणदेखि प्रतिवेदन तयार गर्दासम्म झण्डै दुई वर्ष समय लागेको भए पनि स्थलगत रुपमा सन् २०१९ को अप्रिल २९ देखि सोही वर्षको मे २५ सम्म अध्ययन गरिएको विभागले जनाएको छ ।

दीर्घकालमा बाघको अधिकतम संख्या उपलब्ध बासस्थान तथा शिकार प्रजातिले कतिसम्म बहन गर्न सक्छ भन्ने जानकारी प्रस्तुत गरी सोही अनुसार संरक्षणका प्रयास बहुआयामिक रुपमा गर्न व्यवस्थापक, नीति निर्माता तथा संरक्षणकर्मीहरुलाई सूचित गर्नका लागि यो अध्ययन गरिएको विभागले जनाएको छ ।

साउन १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्