सिरेटाेले काँपिरहेको जिउ, नौ डाँडा पारीको बस्तीमा तिमी!

बर्खे झरीले छङ्छङ् भित्ता हान्दै गर्दा पूरै जिउ निथ्रुक्क हुनेगरी भिज्दा पनि छातासमेत नओढि यो सहरको कुनै एउटा गल्लीमा सँगै हिँडेका थियौँ पछिल्लोपटक।

सम्झन्छु विगतका दिनहरु आँखा भरिएर आउँछन्। सेतो ‘ए–४’ साइजको कागज अगाडी सँगै एउटा ‘कलम’। अनि मनभरि, हृदयभरि तिमी सजिएको सुन्दर संसारको कल्पना।

‘भ्यालेन्टाइन’ सम्बन्धि यो प्रेमिल पत्र लेख्न खोज्दै छु। मुस्कुराइरहेको तिम्रो मुहार झलझली सेतो कागजमा देख्छु मानौं कि म कुनै चलचित्र हेर्दैछु एउटा ठुलो पर्दामा।

मन उडेर कोशाैँ टाढा पुग्न खोज्छ। म समाल्न खोज्छु । आडैमा तिमी भइदिएको भए यी आँखाहरुले फुर्सद पाउने थिएनन् होला तिमीलाई एकोहोरो हेरिरहन।

शिशिर यामको चिसोभन्दा पनि चिसो हावाको करेन्ट महशुस गरिरहेछु यो एक्लो बिरानो बस्तीमा। सियो बिझेसरि खपिनसक्नु चिसोको वर्णन मैले तिमीलाई गर्न भ्याएकै छैन। तिमीलाई मेरो बानी थाहै नै छ नि। मेरै चिन्ता बढी गरिबस्छौ भनेर मैले तिमीलाई भन्न सकेकै छैन र आज देश सञ्चार डटकमलाई पठाउन लागिरहेको पत्रमा खपिनसक्नु मकालु हिमाल र सँगैका विभिन्न नजिकैका हिमशृंखलाबाट आउने मुटु छेड्ने चिसोको बारे लेखेँ।

मेरी प्यारी ‘…………’

हामी आधुनिक जगतका पुरातन शैलीका प्रणय जोडीहरु हौँ क्यारे सायद। हृदयदेखि नै मायाले तिमीलाई बोलाइरहेको हुन्छु। तिमीले नथाक्ने गरी हजुर…. हजुर…. भनिरहन्छौ, त्यतिबेलासम्म जतिबेला मैले एकोहोरो बोलाइरहेको हुन्छु।

कक्षा तीनमा पढ्दाताका ‘मेरो नेपाली’ किताबमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुना–मदन’को बारे एउटा पाठ थियो। मदन भोट गएको, मुना भाव विह्वल भई घरमा बसेको कथा त्यो अबोध बाल मस्तिष्कमा गाडिएको थियो। पाठसँग सम्बन्धित उत्तर खोज्न थालियो ७/८ वर्षको उमेरमा। समयको आफ्नै बहाव हुँदोरहेछ। समय र प्रकृतिभन्दा बलवान अरु केही हुने रहेनछ।

मैले बुझ्न थालेंँ ‘मुना–मदन’हरु। जीवनको किशोरावस्थामा प्रवेश गरेँ। अलि नौलो संसारको कल्पना गर्न थाल्यो मस्तिष्कले। शरीरमा देखिएका परिवर्तनदेखि आफै लाज लागेर आउन थाल्यो। साथीसंगीहरुले स्कुलमा केटी साथीहरुलाई चिठी पठाएको निहुँमा हेड सरको अगाडी उठबस गर्ने गरी सजाय भोगे। त्यति नै खेर स्कुलमा गणित विषय पढाउने एकजना गुरुले अलि ठुलो भएपछि ब्याचलर, डिग्री पढ्ने बेलामा ‘लभ’ गर्ने अनि बिहे गर्ने है नानी बाबुहरु भन्दा अचम्म लागेको थियो बाल्यकालमा, सरले किन भन्नु भएको होला भनेर।

मैले मेरा गुरुले दिएको उपदेश शिरोपर गरेछु क्यारे। स्कुले जीवनमा कहिले पनि साथीहरुले जस्तै हेडसरको अगाडी केटी साथीलाई चिठ्ठी पठाएको आरोपमा उठबस खेप्नु परेन। ‘प्लस टु’ पढ्दाताकाको सहरिया रौनक गर्लफ्रेण्डको चक्करमा लाग्नु परेन अथवा मेरो स्वभावैले मलाई त्यता सोच्न फुर्सद जुराएन।

समयको गतिमा दौडिरहेको बेला जतिबेला तिमीसँग भेट भयो त्यो भेट मात्र रहेन मेरो जीवनमा। जीवनलाई हेर्ने, बुझ्ने र सोच्ने तरिकामा परिवर्तन गराइदियौ। या भनौँ मानवरुपी शरीर धारण गरेर यस लोकमा खुट्टा टेकेपछि संसारको अनन्त यात्रामा जोडिन आयौ तिमी। र म तिमीसँगै जीवन यात्रामा निस्किएँ।

मैले एक गास खाना बढी खाएँ भने खुसी बनिदिन्छौ। मेरो अस्तव्यस्त बानी र जीवनशैलीबारे सचेत गराई बानी सुधार्न सधैं एक गुरुको जस्तै व्यवहार गर्दछौ। म के भनौँ तिमीलाई? कहिलेकाहीँ सोच्छु, टोलाउँछु म रित्तो हुन्छु। मेरा लागि ज्यान फालेर किन यतिसारै माया गर्छौ प्यारी ?

एकपटक यस्तै के भनेको थिएँ तिमी यति रोएकी थियौ कि मलाई फकाउन हम्मे–हम्मे परेको थियो। यति धेरै माया नगर न भन्दा मलिन भएको तिम्रो निर्दोष मुहारको याद आउँछ। भेट भएको बेला फर्केर गन्तव्यतिर लाग्दा तिमी यति रोएकी थियौ कि सोच्छु सात समुन्द्र पारी भएँ भने तिमी कसरी एक पल कटाउँछौ होला?

मन हो कहिले धर्किन्छ। बलेनीको पानी सरी बेस्सरी रोइदिन मन लाउँछ । सधैं सँगै बस्न नसकिने। भोक लाइरहने पेटका लागि दुई छाक जोहो गर्नैपर्ने। आज एक छु भोलि बेहुली बनेर जिन्दगीभरको लागि यो समाजको अगाडी तिमी आउनेछौँ तब दुई हुनेछौँ । संगै भन्टाङ–भुन्टुङ थपिएर चार जना त कसो नबनिएला? धर्तीभन्दा नि भारी आमा–बुवा सँगै हुनुहुनेछ। सोच्दा–सोच्दै हराउँछु आफ्नै दैनिकीमा। जब तिमीलाई भेट्न मन लाउँछ मन अत्तालिन्छ। भलै आधुनिक जमानाको यस भर्चुअल  संसारकै उपस्थिति किन नहोस् ! प्रविधि साधन हो जीवनको साध्य होइन।

फेसबुक, ह्वाट्सएप, भाइबर यिनीहरुले क्षण भरको लागि तिमीलाई देख्ने र मनका कुरा राख्ने बाटो दिए होलान् तर हामी एक अर्का बिना अरु कुनै कोही नै उपस्थित नभइदिए हुने कामना गर्ने प्रेमिल जोडी पो हौँ त !

उसो त इन्टरनेट र फोन नेटवर्क राम्रोसँग नटिप्ने र नचल्ने ठाउँमा छु। तिमीसँग बोल्न अग्लो ठाउँ र टावर कता टिप्छ भन्दै मोबाइल घुमाउनु पर्ने ठाउँमा कर्म गर्दैछु। तिम्रा लागि एक जिम्मेवार जीवनसाथी बन्नको लागि चिसो, अप्ठेरोहरु सहेर संघर्षरत छु।

यो सिन्दुरसरि रंगको फूल गुलाब साटेर प्रितका अनेकौं भावहरु एक अर्कामा समर्पण गर्ने प्रेमिल जोडीहरुको पवित्र पर्वसरि मानिने यो भ्यालेन्टाइन डेमा तिमीलाई भेटेर ‘मेरी भ्यालेन्टाइन’ भन्दै निरसिएका एक अर्कालाई अँगालो हालेर बस्ने चाह नभएको कहाँ हो र प्यारी!

आजको दिनमा कोशाैँ टाढा रहेकी तिमीसँग भेटेर आँखाले नथाकुन्जेल, तिम्रा कोमल हातमा समाएर माया नै मायाले भरिएको मीठो चुम्बन गर्ने मन थियो। समय र प्रकृतिको हातमा हुँदो रहेछ। चित्त बुझाउँछु। आजका दु:खहरु उपर हाम्रा अगाडिका दिनहरुमा खुसी नै खुसी मिल्ने बाटाहरु कोरिँदै छन्।

फेसबुक, ट्वीटर, युट्युव जस्ता सामाजिक सञ्जालतिर देख्छु यो एउटा रमाइलो र उत्सवको पर्व जस्तै बनेको। सबै सजिएको पाउँछु आफ्नै मायाको छुट्टै संसारमा। नक्कली माया हो कि सक्कली मायाको चलन हो ‘कन्फ्युज हुन्छ’ तैपनि तिम्रो अभावमा यो शून्य समयमा सकारात्मक सोच्छु।

आजको दिन रहर नभएको हाेइन। प्रकृतिको कुनै रमणीय स्थलमा घन्टौ बिताउँ, मायाले भरिएको लोभ लाग्दो गुलाबकाे फूल उपहार स्वरूप तिमीलाई मायाको एउटा चिनो दिइराखूँ। अफसाेच तिमी धेरै टाढा छौँ। भौतिक रुपमा हाम्रो उपस्थिति आजको दिन एक अर्कालाई सम्भव भएन। हामी कुनै दिन छिट्टै नै भेट्ने छौँ। म तिमीलाई भेट्न आउनेछु माया नै मायाले भरिएको तिम्रो गाउँमा ….

तिमी पनि अवगत नै छौ र मैले नि हेरिरहेछु आँखा अगाडिका दृश्यहरुलाई। घमण्ड नै सही। यो समयको लागि हाम्रो माया अरुभन्दा बेग्लै नै छ। मीठो मीठो र मात्रै मीठो छ। प्लाष्टिकमा प्याकेट गरिएका सजाइएका गुलाबका फूलहरुले आँखै लोभ्याउने समय बनेको बेला , बिहे भएर पनि नयाँ गर्ल फ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउनेहरुको भीडमा हामी त नमुना नै हौँ जस्तो लाग्छ। खैर अंग्रेजी फेब्रुअरी महिनासँगै शिशिर याम सकिएर बसन्त लाग्नै तयारी भइबसेको बेला आउने प्रेमिल जोडीहरुले उत्साहपूर्ण तरिकाले मनाउने यस प्रणय दिवसले टाढा–टाढा रहेका मायालु जोडीहरुलाई एक गराओस्।

समय आउँछ, समाजदेखि नडराई जसरी यस ‘भ्यालेन्टाइन डे’ तत्कालिन समाजमा स्थापित भयो त्यसै गरी नै यो समाजमा विना डर तिमीलाई आफ्नो बनाउने दिन पनि आउनेछ। प्रतीक्षा गर मेरी मायालु म तिमीलाई जिन्दगी भरको लागि आफ्नै बनाउने तयारीमा साथ जुट्दै छु।

साथै आजको यस उत्साहको दिन, चोखो माया गर्ने पवित्र आत्माहरुको मिलन गराउने दिनको रुपमा संसारभरिका प्रणय जोडीहरुले मनाउने यस दिन, हामी दुईको तर्फबाट प्रणय दिवस भ्यालेन्टाइन डे को हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

सन्तोष सागर, खाँदबारी, संखुवासभा 

फाल्गुन ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्