देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

प्रिय कम्रेड

प्रिय कम्रेड,

म एउटा नामको खोजीमा अनेकन नाम छोड्दै जिन्दगीको २८ वसन्त खै कहाँ हराएँ केही अत्तोपत्तो छैन। उहिले चिना टिपन लेख्ने बेलामा ज्योतिषले मेरो भागमा तिमिलाई नै लेखेको हुनुपर्छ, नत्र किन कसैको पनि प्रेम मेरो लागि प्रेमजस्तो महशुस भएन?

तिमी नै भन के तिमी मेरो कम्रेड हाेइनौ? के दक्षिण भारतीय चलचित्रमा मात्र प्रिय कम्रेड भेटिने हो र? मेरो जिन्दगी जिउने त्यो तिम्रो मुस्कान आफैमा कुनै धर्मभन्दा कम छैन।

तिम्रो नामलाई कमरेड सम्बोधन गरेर यो पत्र लेख्दैछु भने तिमी आफै बुझ्न सक्छेउ कि तिमी मेरो जिन्दगीको कुन उचाइमा छौ।

म विगतमा के थिएँ? वर्तमानमा कुन परिस्थितिकाे सामना गरिरहेकाे छु, त्यो सब एक–एक गरी हरेक विस्तार लगाएको छु। तिमी आफै बुझ्न सक्छौ तिमीमा भविष्य नदेखेको भए यी सब कुराहरु हुन्थे की हुन्थेनन्। मैले तिम्रो नाममा धेरै कुरा फेरि नयाँ मानेर गर्नुछ भनेर भनेको छु।

तिमीले पहिलोपटक सिन्दुरको चिम्टी सजाउँदा मेरो हातले दोस्रो पटक लगाइरहेकाे हुनेछ। तिमीले चाहेका सडकहरु मेरा लागि नयाँ हुन्नन् तर म तिम्रो प्रेममा मदहोश भएर तिमीसँगै प्रेमिल पाइला पछ्याउँदै हिँड्नेछु।

कम्रेड त्यो मात्र हैन, जसले परिवर्तनकारी भूमिका निभाउँछ। कम्रेड त्यो पनि हो जसले परिवर्तनको बाटो हिँड्न चाहने म जस्तो युवाहरूलाई प्रेम सिकाउँछ। म तिमीलाई निदाएको हेर्न चाहन्छु तर तिमी यो नसोचकी तिमीलाई अंगालोमा बाध्नु मात्र मेरो चाह हो। म चाहन्छु कि तिमी आफुलाई सुरक्षित महशुस गर। आफ्नो प्रियसीको सुरक्षाको बारेमा सोच्नु मेरो लागि पहिलो पटक हाेइन तर तिमीले त्यो सुरक्षाको अनुभूति पहिलो पटक महसुस गर्नेछौ। धेरै आख्यानमा बयान हुने गरेको प्रेमजस्तो प्रेम म तिमीलाई गर्दिन। कहीँकतै नसुनिएको भन्न नसकिने अर्गानिक प्रेम म तिमीसँग गर्नेछु। गरिरहेकै छु।

तिमीलाई कम्रेड सम्बोधन गर्दासमेत मैले बिहानीको स्पर्श गर्न सकेको छैन। तर हरेक बिहान तिम्रो चिसो केशबाट तप् तप् चुहिने पानीको थाेपाले मेरो मुहारमा स्पर्श गरोस्।

म फेरि दोहोर्‍याउन चाहन्छु। साथीहरू माझ कयौं पटक तिमीले झगडा गर्‍याैँ होला। आमाबुबा , इस्टमित्र हरेक ठाउँमा झगडा भए होलान्। तर तिमीले हकका साथ मसँग पहिलो पटक झगडा गरिरहँदा मेरो फकाउने शैली पहिलेकै हुनेछ। दोहोरिएको हुनेछ। मेरो फकाउने कौशल कुन श्रेणीमा पर्छ त्यो त थाहा छैन तर तिमी रिसाउने कला उच्चतम श्रेणीमा पर्छ। रिस तिम्रो आभूषण हो। तिमिले निभाउने धर्म हो। तिम्रो तपस्या हो। तिमीले आफ्नो धर्म पहिलो पटक निभाउनेछौँ अनि मैले जानी नजानी फेरि पनि फकाउने छु।

म तिम्रो प्यार जित्न चाहन्छु त्यसैले होला मलाई तिमीमा आफ्नो प्रियसीको आभाष हुन्छ। मैले मेरी आमापछि आफ्नो अर्धाङ्गिनिलाई खुब प्रेम गरेको थिएँ। आज एक्लोपनले सताउन थालेपछि फेरि तिमीमा आफ्नो प्रेम देखेको छु। कैलेकाहीँ तिमीसँग ढिला भेट भएकोमा दुख लाग्छ अनि फेरि कैले सम्झन्छु ढिला किन नहोस् भेट्न त पाएको छु। साथ त मिलेको छ। अनि मनमनै खुशी हुन्छु।

थाहाछैन कम्रेड सम्बोधन कतिको उपयुक्त छ। किनकी हरेक कथाको एउटा हिरो हुन्छ अनि म हिरो बन्ने दौडबाट पहिले नै बाहिरिसकेको छु। तर थाहा छ? तिमीले कल्पना गरेको हिरो म आफूलाई बनाउन कुनै कसर बाँकी छोड्ने छैन। तर आकर्षणभन्दा पर रहेर जब तिमी मलाई हेर्छौ, कुनै रोमाञ्चक प्रेम कथामा आधारित सिनेमाको हिरोभन्दा कम देख्ने छैनौ जस्तो लाग्छ।

तिमिलाइ लाग्दो हो मैले प्रेम गर्थे भने किन रगतले पत्र लेखिन? पत्र मसिले नै लेखिन्छ तर पनि तिमिले चाहेको जस्तो रगतले मैले पनि लेखेको छु। मुटुको चारै कोठा भरेर पत्रहरु आपसमा प्रेम गीत गुनगुनाइरहेका छन्। सपनामा कुनै तस्बिर बारम्बार आउँछ भने त्यो केवल तिम्रो। म तिमीलाई पाउन आफूलाई विश्वास नलाग्ने भगवानको मन्दिर धाउन थालेको छु। पुजा गर्न थालेको छु। तपस्या सुरु गरेको छु।

मरुभूमिको लाभा भरिएको तातो जमिनमा एउटा सानो बिरुवाको आसजस्तै तिमी। तिम्रो उपस्थिति मात्र पनि मलाई जस्तोसुकै कठिन परिस्थितिसँग लड्न सिकाउने गुरु मन्त्र बनिदिन्छ। प्रिय कम्रेड भनिरहँदा तिमी मेरो प्रेमलाई राजनीतिसँग जोडेर टाढा बन्न नखोज्नु किनकी हामी फरक सिद्धान्त बोक्न सक्छौँ तर हामी एक अर्काको साझा कथा हौँ।

बेस्वादको राजनीति भित्र स्वादको प्रेम नभइदियोस्। प्रेमको स्वादमा बरु एउटा राजनीति गरौँला। म तिम्रो सभापति बन्नेछु तिमी मेरो गृहमन्त्री बन्नु। हाम्रो समाजमा मैले मात्र हाेइन सिंगो समाज पत्निलाई प्रेमिका मान्छ। प्रेमिकालाई गृहमन्त्रीको दर्जा दिन्छ तर गृहमन्त्री अर्थात् घरेलु कामकाजको रानी। म यसअर्थमा तिमीलाई गृहमन्त्री भनिरहेको छैन।

मेरो जिन्दगीको घरमा देवी बनेर तिमीले बस्नु पर्ने भएकाले गृहमन्त्रीको दर्जा दिएको छु। म तिम्रो जीवनको पूर्ण आख्यान पढ्न चाहन्छु किनकी मलाई तिम्रो हरेक कालखण्डमा प्रिय नै रहनुछ।

सहयात्री बनेर एउटा दौडमा भागेदार बनौँ ताकी यो समाज र यसको भविष्यले हाम्रो प्रेमको उदाहरण जन्माैजन्म दिइरहोस्।

उही तिमीलाई माया गर्ने सेकेन्डह्याण्ड कम्रेड

रुपक अधिकारी

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्