देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

एक मृत गुलाब

एउटा गुमनाम ठेगानामा बेखबर केइ खबर लेखेर चिट्ठी पठाएथेँ। कहाँ पुग्यो, कसले पढ्यो?

पुग्यो र? पुगेन होला र? खै कुन्नि?

कसो-कसो त्यो चिट्ठी आज मैँकहाँ आइपुगेको छ। ठेगाना बताइएको थियो। – “उपहार छोडेको छु, लिनू।”, भित्र यत्ति लेखिएको थियो।

म बताइएको ठेगानातिर लम्किएँ। हर पाइलामा एक पैताला बाटो टाँस्छु, अनि फेरि झार्छु। फेरि टाँस्छु, फेरि झार्छु।

ठ्याक्कै मेरै जिन्दगीजस्तै गरी बिग्रिएको छ बाटो। खाल्डाखुल्डी नाघ्दै/कुल्चिँदै हिँडिरहेछु। लावारिस गल्लीहरुमा बहुत सम्हालिएर हिँड्नु पर्च। बडो एन्टिक हिँडाइ हो यो जिन्दगीको।

भट्टी छिर्छु। नेवा: ऐला घुट्काउँछु। सम्हालिन छाडिदिन्छु।

आकाश हेर्छु। हेरिरहन्छु। आकाश जत्रो पिँजडा के छ होला अर्को? सोचिबस्छु।

चराहरु …….
……..बराहरु !

***
बाइकमा ठोकिन पुगेछु।

‘मर्न मन छ मु*?’ कोही मेरो कानलाई गाली गर्छ।

‘अँ छ ।’

‘मर्छस् त ?’ ऊ अब मेरो अस्तित्वलाई गाली गर्छ।

‘एँ, छैन । अँ छैन, छैन’, म भन्छु ।

ऊ रिसले ठिस् हुन्छ । म त झन उसै ढिस् छु ।

मान्छे किन आफ्नो अस्तित्वको दाबी गरिरहन्छ? म सोच्दै हिँड्छु ।

मलाई म को हुँ? म किन हुँ? म छु? जस्ता कुरा उति साह्रो कहिल्यै थाहा भएन। सोच्नै छाडिदिएँ।

बाँचे मृत्यु, मरे जिन्दगी छँदै छ। कति सोच्नु हाउ?

बरु उपहार के होला ? कस्ले छोड्या होला ? किन छोड्या होला ? यो सोच्न थालेँ।

***

स्मृतिका दिव‌ंगत मितिहरु आउँदा भए, जाँदा भए । कसैको नाम सम्झिएँ, कसैको अनुहार सम्झिएँ। उपहार दिने मान्छे सम्झिँदा सम्झिँदै मेरो उपचार गर्नुपर्ने स्थिति भइसक्यो । ठ्याक्कै यही होला, अहँ यकिन भन्न सकिन ।

म अलि छिटो छिटो लम्किन्छु । जिन्दगी आफैँमा यात्रा हो र यात्री पनि ।

म के हुँ ?

जिन्दगी ?

यात्रा ?

यात्री ?

या पुग्नुपर्ने गन्तव्य ?

***

सुसज्जित शहरबासीको गुप्ताङ्ग धोएर बगेको नाली छेउ छु। अँ यार, बताइएको ठेगाना यही थियो।

नाली छेउ उपहार छोडेर जानेको दिमाग पक्कै खाली हुनपर्छ ।

जीवन रहस्यमय आश्चर्य हो, भन्छन् ज्ञानीहरु । लौ त्यही सही ।

मसँग भएको खाम निकालेँ । ठेगना हेरेँ- यही हो । भित्र लेखेको पढेँ- ‘उपहार छोडेको छु, लिनू ।’

के उपहार छोडेको ? त्यो किन नलेख्या होला ?

ठ्याक्कै कहाँनिर छोडेको, त्यो पनि लेख्द्या भए हुने नि ।

यता उति,  यता तेता जम्मैतिर खोज्न थालेँ ।

उपहार के हो ? यो थाहा पाउनु आवश्यक देखेँ मैले ।

चुरोट ?

रक्सी ?

कन्डम ?

किताब ?

जुत्ता ?

पेन/डायरी ?

प्रेमपत्र/सम्भोगपत्र ?

यार, के हुन सक्छ ?

ढुङ्गा/माटो/काठ ? – हैन हैन यी हुन सक्दैनन् ।

इच्छा/रहर/सपना ? – तैट, यी त झन हुनै सक्दैन ।

कोही बिरामी भएको खबर/कोही आरामै रहिरहेको खबर ? – कुन्नि यार ।

मांपाखा होला चाइँ के ?

खाम फेरि खोल्छु, खुब नियाल्छु । नाम/नम्बर/ठेगना- अहँ केइ पनि छैन । ‘उपहार छाडेको छु । लिन !’, बस् यत्ती बत्ताइएको छ उपहारको बारेमा ।

म आफैँले पठाएको त्यो चिठी याद गर्छु । के लेखेको थिएँ, सम्झिन्छु । केइ पनि त लेख्या थि’न आखिर । सब्बैथोक त लेख्या थेँ फेरि । लेख्नैपर्ने कत्ति कुरा नलेख्दा नै सुन्दर हुन्छन्, यही सोचेर खालि कागज खाममा कोचेर बेठेगान पठाएको थिएँ ।

त्यही चिट्ठी, त्यही खालि कागज । त्यही खाम् । सब्बै त्यही ।

तर उपहार किन आयो ? कस्ले पठायो ?

मैले कुनै त्यस्तो सम्मानित हार पनि बेहोर्‍या छैन । कुनै त्यस्तो लज्जास्पद जित पनि जित्या छैन ।

म सोचिरहेँ।

……को होला ? के होला ?

***

‘झल्लु जी।’ कसैले बोलायो ।

‘हजुर जी ।’ मैले बोलेँ।

बोलाउने मान्छे वरिपरि देखिन ।

‘म क्या म । चिन्नुभो ?’

‘को क्या को ? चिनिन ।’

‘अनि रक्सी छोड्नुभो । घाट आउन छोड्नुभो भन्ने सुन्या थेँ ।’

‘अँ छोडेँ ।’

‘अनि फेरि आज किन घाट आउनुभो ?’

‘घाट नभन्नुस, सुसज्जित शहरबासीको गुप्ताङ्ग धोएर बगेको नाली हो बुझ्नु भो ?’

‘अँ बुझे ।’

‘के बुझ्नुभो ?’

“झल्लु जी । आई लब यु । आई लब यु भेर भेरी मच् । आइ लब योर्स वोर्ड्स । आइ लिब्स योर्स वोर्ड्स ।… ए एउटा चिनो छ लिनुहोला ।….”

म यता उता हेर्छु । ओइलिएको गुलाब रहेछ । भुइँमा झरेको रहेछ । टिप्छु । हातमा लिन्छु। सुँघ्छु, वासना छैन ।

‘सुसज्जित शहरवासीको गुप्ताङ्ग धोएर बगेको नाली हो यो ।’

‘राम्रो । बुझ्नु राम्रो हो । बुझ्नु भो ?’

‘के ?’

‘बुझ्नु राम्रो हो ।’

‘अँ बुझे, बुझ्नु राम्रो हो ।’

म सिग्रेट उडाउछु ।

ऊ बोल्छ, एक्कासी- ‘हत्तेरी । उपहार लिन आउनुभ’को ?’

‘अँ ।’

‘ऊ त्या छ ।’

‘खै काँ ?’

‘ऊ त्याँ ।’

‘ऊ त्याँ, काँ छ ?’

‘उ त्याँ’ , ऊ बलिरहेको चितातिर देखाउँछ ।

‘त्यो चिता कसरी उपहार हुन्छ ?’

‘चिता उपहार होइन क्या, बुझ्नुस् न यार । नत्र चिन्ता उपहार हुन सक्छ ।’

‘म चिन्ता लिन्न । बुझ्नुभो ?’

‘अँ बुझे ।’

‘के बुझ्नुभो ?’

‘तपाईँ चिन्ता लिनुहुन्न ।’

‘राम्रो । बुझ्नु राम्रो हो । बुझ्नु भो ?’

‘हत्तेरी झल्लुजी बुझे क्या हाउ । उपहार त्याँ छ, लिनुहोला । म गएँ ।’

ऊ गयो । ऊ भुत्रो जानु, उसको आवाज गयो । ऊ बोल्न छाड्यो । पक्कै ऊ गयो ।

उसले देखाएको ठाउँतिर जान्छु ।

मेरो दुई थान अल्कोहोलिक आँखालाई बलिरहेको चिताको धुवाँले रुन्चे बनाइदियो ।

बलिरहेको चितामाथि उभ्भेर जलिरहेको लास हेर्छु ।

अनि उपहार खै कहाँ छ, त्यो पनि हेर्छु ।

अलिक पर केहि देख्छु । ओहो यहाँ पो रैछ ।

चिट्ठी नै रहेछ ।

कस्तो मुला ठिस् रच । चिट्ठी उपहार हुन्छ त ? चिनो पो हुन्छ ।

चिट्ठी:
कुनै रुँदै पढ्नुपर्ने हुन्छ ।
कुनै हाँस्दै पढ्नुपर्ने हुन्छ ।
कुनै रिसाउँदै त फेरि कुनै चुपचाप सास रोकेर पढ्नुपर्ने हुन्छ ।

यो कस्तो खाले चिट्ठी हो। बाहिर पाउने/पठाउने कसैको नाम/ठेगना छैन।

ठ्याक्कै मैले नै पठाएको चिट्ठी जस्तो। भित्र पनि केइ लेख्या छैन । खाली छ ।

.. एँ रोक्नुस, रोक्नुस । पछाडि केइ लेखिएको छ । म पढ्छु ।

झल्लु जी । आई लब यु । आई लब यु भेर भेरी मच् । आइ लब योर्स वोर्ड्स । आइ लिब्स योर्स वोर्ड्स ।… ए एउटा चिनो छ लिनुहोला ।….”

म यता उता हेर्छु । ओइलिएको गुलाब रहेछ । भुइँमा झरेको रहेछ । टिप्छु । हातमा लिन्छु। सुँघ्छु, वासना छैन ।

अनि फेरि पढ्छु, ….

म यै फुल हु । वासना नभएको । वासना हुन्जेल सब्बैले मलाई प्रेम गरे । बैंस हुन्जेल सब्बैको प्रिय भए ।

तपाईंले यो पढिरहदा म जलिरहेको हुनेछु ।

एँवैट वैट । मेरो अनुहार नियाल्ने कोसिस नगर्नुस् । म धुवाँ भइसकेको हुन सक्छु । हामी सबै धुवाँ हौँ हैन र माई डियर राइटर ?

म तपाईंले अहिलेसम्म नभेटेको/नचिनेको तपाईंको प्रेमिका । म तपाईंले लेख्दै नलेख्नु भएको कथाको नायिका ।

नाम: बेश्या 
जात: रन्डी 
काम: सुत्नु 
दाम: ५०० पर रात !”

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्