‘माया मार्न सजिलो होला, सार्न गाह्रो रैछ’

प्यारी साइँलू,

तिमी कहाँ छौ कुन्नि । मलाई तिम्रो ठेगाना थाहा छैन । आजकल त बच्चाको हातमा पनि मोबाइल भन्ने जिनिस हुन्छ । त्यसो त मेरो पनि छ । म नपढेको मान्छे, आएको उठाउन सक्छु । फोन लगाउन जान्दिन । जानेको भए पनि के र, म सँग तिम्रो फोन नम्बर नै छैन । मोबाइलको बाहिर देखिने ठाउँमा तिम्रो फोटो राख्ने मन त हो तर अरुले देखे कसको भन्नु ? तिम्रो फोटै पनि त छैन मसँग ।

कहिलेकाहिँ बाख्रा लिएर राजुपानीको वनमा जान्छु, त्यहाँ दुइवटा सल्लाका रुखहरु छन् । पहिले पहिले मौका जुर्दा तिमी दाउराको लागि यिनै सल्लामा सुरेली खेलेर चढेको लुकेर हेर्थें । तिनका फेद वरिपरि खसेका सल्लिपिर हातमा राखेर सोच्छु, साइँलू र म पनि यिनै सल्ला त हौँ ।

साइँलू सँगै त छे । तर अलिबेरमा सल्ला बनेर उभिरहन्छन् । म झस्किन्छु मात्र । अलि तल मान्छे पोल्ने घाट भन्दा थोरै माथि खोलाको किनारमा, याद होला नि साइँलू जहाँ थिए बाक्ला ऐंसलुका झ्याङ र थियो गिलगिले हिलो । आउन त तिमी कहिले आएनौ तर कति धेरै पटक म एंैसेलु टिपेर तिमीलाई पर्खी बसेकोछु त्यहाँ ।

मल फाल्दा डोकामा आमाले सकि नसकि मल उठाइदिँदै अब तँ लाठे भइस्, बिहे गर, मलाई कति दुःख दिन्छस् ए भन्छिन् । झलक्क तिम्रै याद आउँछ साइँलू । डोकामा मल बोकेर दुई हामी पाखाबारी तिर गफ गर्दै टुकु टुकु झरेको मनमा खेलाइरहन्छु । अस्ति भाइले छोरो पायो । कम्ता राम्रो छैन मोरो । मैले त तिमीलाई पर्खेर बसेको । रहर त मलाई पनि लाउँछ नि साइँलू । भो कुरा नगरम यसको । यसो सम्झेको मात्र ।

अस्ति मावलबाट फर्किँदा तिम्रो गाउँको मान्छेलाई देखेथेँ । कति प्यारो त्यो मान्छे । उसले त सायद चिन्दैन मलाई । हामी बोलेनौ पनि । तर दोबाटोमा छुटेर गएको उसलाई मैले ओझेल परिउञ्जेल हेरिरहेँ । त्यो मान्छे तिम्रो कोहि आफन्त पनि हुनसक्थ्यो । त्यो बेला तिमीले मानेको भए आज त्यो मान्छे मेरो पनि त कोहि आफन्त हुन्थ्यो । हामीसँगै आउथ्यौँ । बाटो सहजै काटिन्थ्यो । तर सँगै भएर पनि हामी एक्ला एक्लै हिड्यौँ ।

घरकाले ब्या गर कि गर भन्छन् । भाइका छोराले अब अर्को वर्ष कखरा फुटाउला । बाउले मेरी जहानको रहर गर्दा गर्दै मरे । आमाले करकर गरिरहन्छिन् । तर मनले मान्दै मान्दिन साइँलू । लाग्छ, म त कसैलाई कुरेको मान्छे पो त । मेरो मान्छेले जवाफ फर्काउनै बाँकी छ । म मेरो मान्छेलाई कसरी धोका दिउँ । दिनै सक्तैन । माया मार्न सजिलो होला साइँलू तर सार्न गाह्रो रैछ । तिम्रो माया म अरु को मा सारुँ कसरी ?

कहिलेकाहिँ जान्छु त्यहिँ जहाँ मैले चारै तिर हेरेर चरा मुसा समेतले देखेका छैनन् भन्नेमा ढुक्क भएपछि खोलाको छ्याङ छ्याङ आवाजको छेल पारेर हावाले समेत नसुन्ने गरि भनेको थिएँ “साइँलू म तिमीलाई मया गर्छु, ब्या गरम” । तिमीले हाँस्दै कसरी पाल्छौ लाटा ?, भनेर सोधौली भन्ने सोचेको थिएँ । जवाफ हप्ता दिनदेखि सोचेर तयार पारेको थिएँ । बसाउने सावुनले नुहाएर दसैँमा एकपटक मात्रै फेरेको कपडा लगाएर गएको थिएँ । तर तिमीलाई नि साइँलू खै के भयो कुन्नि ? माछा जस्तै सिनित्त चिप्लिएर कता हरायौ कता । जवाफ कुरेर बसेको म भाइको छोरा खेलाउँदै पर्खिबसेको छु । उफ्, मैले केहि गल्ति गरेको थिएँ र प्यारु ? आएर कहिले अहँ भनिदिन्छौ ?

साइँलू अस्तिको कुरा हो । मूुल बाटो माथि वरको रुखमुनि एउटा ठिक्ककि केटी उभिएकी थिई । एउटा केटा बिरालोको चालमा आयो र चुपचाप एउटा घुँडा भुर्इंमा मारेर, अर्को खुट्टा अलि माथि उठाएर मुस्कुराउँदै नमस्कार गरेका दुई हातका बीचमा गुलाबको फूल राखेर देवीलाई जस्तै चढायो । अरे साइँलू, थाहा छ त्यो केटीले के गरि । बिजुली वेगमा केटाको हातबाट फूल लिई र पत्र पत्र च्याति अनि मुठ्ठीले मिचेर केटाको अनुहारमा हानी । भूईँमा थुकी । र लामा लामा पाइला चालेर झोलुङ्गे पुल तरेर गई । केटाले पछि फर्केर पनि हेर्न सकेन । केटी राती र रिसाहा देखिएकी थिई । मैले त कुरै बुझिन । मैले खाकाबेशीको एकान्तमा तिमीलाई साइँलू ब्या गरम भन्दा तिम्रो अनुहार कस्तो पो थियो कुन्नि । हेर्दै हेरिनछु । पक्कै यस्तो दुर्गाको मुर्ति जस्तो त थिएन होला । मलाई त लाग्छ एक दिन तिमीले, ठूले हुन्छ नि ब्या गरम भनेर हाँस्दै लजाउँदै आउनेछौ । वा कागजमा लेखेर मेरो मया स्वीकार्ने छौ । लेखेको नबुझुँला भनेर म बुढाहरुसँग हरेक बेलुका प्रौढ कक्षामा जान्छु आजकल । पढेका मान्छेको मया अलि फरक हुन्छ कि भनेर नि साइँलू ।

फागुन भए पनि चिसो बाँकी छ यता । गोरु चराउन आएको थिएँ ठूल्चौरीतिर । आजकल त केम्पस खुलेको छ नि गाँउमै । ठूल्चौरीको नजिकै छ केम्पस । केटा केटीहरु आइरहेका थिए त्यहाँबाट । एउटाले निधार भरि रातो टीका लगाएको थियो । झिलीमिली कागजले बेरेको एउटा बक्सा जस्तो के हो पनि समातेको थियो । मलाई असाध्यै जान्न मन लागेर सोधेँ । एउटीले भनि, ‘अंकल आज भ्यालेन्टाइन डे हो । उसले प्रेम पत्र लेख्नमा फस्ट भएर प्राइज जितेको ।’ मैले केही बुझिन । गिज्याएर हाँसी । अरु पनि हाँसे ।

म झन चित खाएँ । त्यहि टिको लाउनेले अलि बुझ्ने गरी भन्यो बरु । आज माया दिवस हो । म आफ्नी मयालुलाई चिठी लेख्नमा पहिला आएको । बल्ल अलि अलि बुझें मैले । माया त मैले पनि बुझ्छु नि साइँलू । माया लेख्न पो सकिन । ए ए कतै तिमी मैले यस्तै लभ लेटर नलेखेर त रिसाएकी होइनौ ? तिमीलाई थाहा थियो त मैले मात्रा जानेको छैन । प्यारु माया लेख्ने चिज हो कि गर्ने ? गर्न त आउँछ नि । लेख्न पो आउँदैन । तर अब त्यो पनि चिन्ता छैन । म अब त्यहि टप्ने केटालाई माया चिठी लेख्न लगाउँछु । पहिलोवालाको भाका राम्रै त होला ।

प्यारु आमा रिसाउँछिन् । काममा जानु पर्छ अब । ठेगाना खोजेर जरुर पठाउनेछु उसले लेखिदिएको लभ लेटर । अहिले गएँ है ।

उसले भने बमोजिमको चिठी लेखिदिएँ । ढुंगाको आडमा बसेर उसले आफ्ना कुराहरु भनिरहेको थियो । दायाँ खुट्टाको बुढी औलाले भुईंको धुलोमा अनेकाँै आकार कुँद्दै बौल्दै थियो । उसले आफ्नो चोखो प्रेम अभिव्यक्त गरेको थियो ति कोरिएका आकारमा शायद ।

तर मैले ती आकार शब्दमा रुपान्तर गर्न सकिन । शब्दहरु मात्रै टिपेँ । उसले चिठी पठाउने ठेगाना भेट्यो कि भेटेन कुन्नि तर म खुशी छु । अर्को प्रणय दिवसको अवसरमा म उसकै मया चिट्ठी प्रतियोगितामा प्रस्तुत गर्नेछु ।

फाल्गुन ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्