देशसञ्चार प्रेमपत्र प्रतियोगिता २०७६

मलाई तिम्रो जिवनरुपी छहारीको ओत चाहिएको छ

पृष्ठभूमिमा प्यारा

हृदयको ब्रम्हाण्डमा केको हलचल हुन्छ आजकल?
मनभित्रको वृन्दावनमा भाव झलझल बल्छ आजकल।
किन हुन्छ मस्तिष्कको सोचाइमा सुखानुभव?
बिरानो यो एकान्तमा केको छलफल चल्छ आजकल?

सन्दर्भ थियो, आफैँ थला पर्दा सकुञ्जेल रुन सकिनँ। न त छुन सकेँ आत्मानुभूतिका अनुरागहरुलाई। दुर्घटनापश्चात् अस्पतालमा उपचारत थिएँ। मामासँग भेट्न भनी आएका एउटा अपरिचित अनुहार देखेँ। सायद मामाको लहैलहैमा। सायद संयोग। पछि मामा विदेश प्रस्थान हुनुभयो। माध्यम बनेन त्यो अपरिचित नौजवान मान्छेसँग भेट्न। मनमा अनौठा तरङ्गहरु प्रशारण हुन थाले। अर्को संयोग उसले मेरो मोबाइल नम्बर मामासँग लिएको रहेछ सायद। एकदिन सेभ नगरिएको नम्बरबाट म्यासेज आयो, ‘तिर्सना! शिघ्र स्वास्थ्य लाभको कामना। तिमीलाई दिनुपर्ने रगत कतै पाइएन। मामाको आग्रहमा मैले नै दिएको थिएँ।’ म नतमस्तक भएँ। हृदयको महासागरमा भावनाको बाढी उर्लियो। आत्माले पलपल गोताखोरले झैँ उसलाई खोज्दै गाउन थाल्योः

पराइ बनी हराउँछौ आफ्नै भनी फर्किदेऊ न।
प्रेमभावको दियो बनी हृदयमा सल्किदेऊ न।।

दिन बित्दै गयो। एक दिन उसको म्यासेज फेरि आयो नयाँ नम्बरबाट। लेखिएको थियो, “तिर्सना ! आज विशेष दिन हो। आज कुन दिन हो? मेरो लागि भविष्यले परिभाषित गर्ला। ह्याप्पी भ्यालेन्टाइन डे।’ वश्, यत्ति हो। कुरा बुझिनँ। अध्ययन गरेँ। फेब्रुअरी १४ भ्यालेन्टाइन डे रहेछ। प्रणय दिवस। प्रेम दिवश।

अदृष्य भए नि उसप्रति मेरो आशक्ति बढ्दै गयो। मनमा उम्रिएका च्याउझैँ प्रश्नको उत्तर मसँग थिएन। उत्तरदाता बेखबर थियो। मसँग थियो त केवल एउटा सवाल गजलमाः

को हौ तिमी? सपनीमा तर्साउन थाल्यौ।
कहिले खुशी कहिले पिडा बर्साउन थाल्यौ।।
जिन्दगीको सहारा झैं दायरामा आउँदै।
हृदयमा प्रेम रेखा धर्साउन थाल्यौ।।

धेरै सोचेपछि मैंले उसलाई चिठी स्वरुपमा तपशिलमा उल्लेखित प्रस्तावरुपी प्रेमपत्र लेखे:

प्रिय अञ्जान,

असीम सम्झना,
इच्छा मिलनको।

सम्झनाको अदृष्यतामा दृष्यावलोकनको प्रतिबिम्ब स्थापित गर्न थाल्यौ। जिन्दगीका हरफहरुमा यादका कहानीहरु लेखिन थाले। बरफजस्तो चिसो जिन्दगी प्रेमतापमा पर्दा उत्साहको थर्मोमिटर भित्र यौवनाको पारोको आयतन बढ्दै छ। केवल, तिम्रो कारण।

देउरालीका हरेक चौतारीमा तिम्रो आगमनको प्रतीक्षाले पल्कि–पल्कि हेरिरहेछु, प्रिय। सुदूर दृष्यको दृष्यावलोकनका लागि ढल्कि–ढल्कि हेर्दै तिमीलाई देख्ने रहरहरुलाई घेरिरहेकी छे तिर्सनाले। आउँदो आशाले मिलनको गीत गाउँदो छ, तैपनि तिम्रो स्वरुपको दर्शन किन दुर्लभ? आऊ। समाऊ। रमाऊ र सजाऊ मेरो आकृति तिम्रो मस्तिष्कको विशाल सोचाइमा।

मेरो दशामा तिम्रो नशाबाट पाएको रक्तसञ्चारले जीवन लम्बिएको छ। तन्किँदैछन् उमङ्गका उभारहरु। रमेका छन्, आत्माका करुणाहरु। जमेका छन् भरोसाका विश्वासहरु। मेरा आशामा पाशा बनेर आइदेऊ। गाइदेऊ प्रेमसंगीतका सरगमहरु। छाइदेऊ मेरो भविष्यको संसारमा। जाइदेऊ खुशीहरु बटुल्न। खाइदेऊ प्रेमभावले चुम्बन। पारिदेऊ मलाई भाग्यमानी। बाँकी पछि नै निर्णय गरौंला।

म चेतनाले भरिएकी नारी हुँ। चाहन्छु, तिमीले अर्पेको सारी पहिरिन। गुमाउन चाहन्छु सौन्दर्य, तिम्रो अटल विश्वासको मझेरीमा। अँधेरीमा म तिम्रो अँगालो चाहन्छु। चाहन्छु तिमीलाई मायाको भँगालो सुम्पिन। वश, तिम्रो बन्न सकूँ। मेरो तन र मनका सुर्काहरु कति खन्न सक्छौं खन। संवेदना र हृदयका गराहरु कति जोत्न सक्छौ जोत। तर प्रतिफलमा मलाई तिम्रो जिवनरुपी छहारीको ओत चाहिएको छ, ओत।

भावुकतामा कामुकता पस्कन्नँ प्रिय। मेरो अस्मिताको पहाड अटल छ। माया गर्छु भन्नेहरुको दाबारुपी हावाको वेगले ढल्दैन। यौवनाको क्षयिकणको महत्व प्रकाशित हुनुपर्छ। तिम्रो जिन्दगीका पानामा मेरो अस्मिता लत्पतियोस् भन्ने लालसाले तिम्रो याचना गरिरहेको छु। तिमीलाई पाउने उत्कण्ठामा आफ्नो लक्ष्य गिराउने पक्षमा छैन म। न त छु, आफ्नो मूल्य तिमीभित्र खोज्ने सोचाइमा। सम्झ, म मेरो अस्मितारुपी धर्तीको मूल्य तिम्रो अथाह सम्मानको मैदानमा छताछुल्ल पार्न चाहन्छु। अमूल्य प्रतिष्ठाको इष्ट–देवता मानेर भावना र चाहनाको सेयर बाँडिचुँडी गर्न चाहन्छु। आत्मसम्मानको धरातल चर्किन दिन्नँ। तिमीलाई कतै निराशाले फर्किन दिन्नँ। तिम्रो अथाह चाहनाको बास बस्ने फलैँचा बन्छु। बन्छु म तिम्रो जीवन फुल्ने बगैंचा पनि। प्रिय, तिमी जहाँ भए पनि समिपमा आऊ। सम्पर्कमा आऊ। सधैं–सधैंको लागि बसाइँ सर्दै मेरो हृदयको प्रेम दरबारमा आऊ।

तिमी को हौ, कसरी चिनूँ? तिम्रो रगतको प्रवाहले मेरो जीवन चल्दै छ। एकपटकको अञ्जान दृष्यानुसार, उमेरमा समकालीन देख्छु। मानवीयतामा मभन्दा बढी। जिउडालमा आकर्षक छौ। हेराइमा रहस्यमयी। बोलीमा मधुरता छ। मुस्कानमा कामुकताको गोली। व्यवहारमा परिपक्व छौ। सद्भावमा नमूना। एकछिनको दृष्यमा तिम्रो सांसारिक बयान गर्दिनँ म। शारिरीक रुपभन्दा मानसिक स्वरुप मेरो प्राथमिकता हो। आई नेभर कन्सिडर यु फिजिकल्ली बट आई अल्वेज मेन्सन यु मेन्टल्ली। तिम्रो सचेतनाको स्तर नारी सम्मान र सक्षमताको गुणस्तरमा मूल्यांकन गर्छु।

मलाई तिम्रो आकाशको तारा चाहिँदैन। सारालाई मनपर्ने जून पनि आफैं राख। तिम्रो प्रशंसाका बाछिटा नपरेकै राम्रो। भरोसाको उपहार भए देऊ। तिम्रा गहनाका अनेकौं आइटम नकिन्नु मलाई। आत्मनिभर्रता र स्वाभिमानको डोली चढ्न सहयोग गर। सहयोग गर तिम्रो निस्वार्थतालाई चिन्न। स्वार्थका अध्यायहरु त समयले चिनाइहाल्छ। मलाई सहयोग गर, आफैँलाई चिन्न कि यो भन्दा कठिन समस्या मानव जीवनमा के हुन सक्छ र? म आत्मपहिचानको अभियानमा छु। समयका प्रतिकूलतामा विचलन आयो भने सम्हाल्ने माध्यम बनिदेऊ। तिमी मेरो आत्मभावनाको संरक्षक बनिदेऊ।

तिमी मेरो रक्षक नभई हौसला बनिदेऊ। सक्षमतामा पराजित हुँदै बुढेशकालमा गौशालाको आश्रममा बस्न नपरोस्। प्रेरणाको नायक बनेर आऊ र उत्प्रेरणाको मार्गदर्शक। आऊ जितौं सँगै मिलेर। सहकार्य गरौं, जीवनयात्रामा। म गम्भीर भएकी छु रे। त्यसै भन्छन्, अरु। म अध्ययनशील भएकी चैँ पक्का हो। संसारका कालजयी प्रेमका पुस्तकहरु मेरा पुराण बन्दैछन्। निष्कर्ष निकालेको छु गजलमा:

मुनामदन लैला मजनु कथालाई पुज्ने गर्छु,
रोमियो हौ तिमी मेरो यही आधारमा बुझ्ने गर्छु।
प्रेमका महान् कहानीमा तिम्रै बिम्ब भेट्छु आजकल,
अक्षर–अक्षर शब्द–शब्द तिमीलाई खोज्ने गर्छु।

प्रिय, म दुई शब्दहरुलाई तिमीलाई जतिकै प्रेम गर्छु। समर्पण र समर्थन। तिमी यसैको पर्याय बन्छौ कि भन्ने आशामा। जीवन कहानीका हरेक अभियानको कार्यसम्पादनमा हामीमा आपसी समर्पणभाव र समर्थनभाव प्रदर्शन भइरहोस्। हामी एकअर्काको अस्तित्व बुझ्ने छौं र महत्व पनि। आवश्यकता बुझ्नेछौं र अपरिहार्यता पनि। कमजोरी स्वीकार्ने छौं र सिकाइ पनि। गुरु–शिष्य आपसमै बन्ने छौं। सम्मान गर्नेछौं। सहकार्यले खुशीको फाँटमा जीवनरथ दौडाउने छौं। हाँक्नेछौ खुशी र मुस्कानको पेट्रोलले दाम्पत्यको इञ्जिन, सुखी बन्ने परको गन्तव्यमा पुग्न। वश्, तिमी समर्थनको क्षमता बोक्दै समर्पित भएर मेरो मर्त्यलोकमा सारथी बनिदेऊ। तिम्रै लागि बाँचेको आभास भइरहेको छ। यो लेख्दै गर्दा अझै प्रेम गरिरहेको छु।

प्रिय खुला आह्वान गर्छु, मलाई अन्माउन आऊ। महामानव बन्न सक्ने सम्भावनाका सन्तानहरु जन्माउन आऊ। महामानवको जन्म हुँदा तिम्रो र मेरो वंशाणु वा जिन मिश्रित होस्। तसर्थ, वैवाहिक जीवनको दोहोरे पिङको लामो डोरी मच्चाउन आऊ।

प्रिय आत्मन, मलाई सुधार्न आऊ। कमजोरीहरु उधार्न आऊ। मेरो कमजोर आत्मविश्वासबाट पराजित थिग्रिएका विचलनहरुलाई विस्मरणको टोकरीमा थन्क्याउन आऊ। आऊ, थन्क्याउन। तन्काउन आऊ जिन्दगीका उमङ्गहरुलाई। सन्काउन आऊ कहिलेकाहिँ घुर्कीले चोसो पसार्दै। तिमीबाटै जिउने जीवनकलामा नयाँपनको शुभारम्भ गर्नु छ। दाम्पत्यताको विमान हाँक्न आरम्भ गर्नु छ। मलाई सिकाउन आऊ गजलमाः

यो आधुनिक जमानामा टिक्न सिकाउ मलाई।
म भित्रको प्रतिभालाई झिक्न सिकाउ मलाई।।
विवेकहीनहरुप्रति चट्टान बन्न सकूँ।
विवेकशालीहरु सामु झुक्न सिकाऊ मलाई।।

ओशो लेख्छन्, तिमी आफूलाई नक्कली भावले अनायासै छोप्न नखोज। वस्त्र लगाउँदैमा गोप्यता नसोच। जतिसुकै वस्त्र लगाऊ, तिम्रो शरीरका अस्त्रहरु यथास्थानमा छन्। कहाँ के छ? स्पष्ट छ। अस्मिताका अस्त्रहरु। इज्जतका धरोहरहरु। आऊ तिमी त्यही मानिस बन, जसलाई म व्यक्तिगत मामलाका केही हकअधिकार दिलाउँछु। मेरा अस्मिता रक्षाका वस्त्रहरु बन तिमी। चाहे, तिमी वस्त्रहरु केलाउन पनि सक्छौ। तिमी मदन, मजनु, रोमियो होइन, मेरो वास्तविक प्रेमको मौलिक नायक बन। तर, पानीको फोका नबन। समयको धोका नबन। बन तिमी जीवन प्रवेशको ढोका, जहाँबाट म आदर्श जीवनको दृष्य अवलोकनको आनन्द भोग्न पाउँ। बन्न आऊ मेरो संरक्षक। सहकार्यको उत्कृष्ट साझेदार। प्रिय, छिटो आऊ। तिम्रो रगतको भार बिसाउन देऊ। द्वयशरीर एकाशनमा मिसाउन देऊ।

प्रिय खुला आह्वान गर्छु, मलाई अन्माउन आऊ। महामानव बन्न सक्ने सम्भावनाका सन्तानहरु जन्माउन आऊ। महामानवको जन्म हुँदा तिम्रो र मेरो वंशाणु वा जिन मिश्रित होस्। तसर्थ, वैवाहिक जीवनको दोहोरे पिङको लामो डोरी मच्चाउन आऊ।

प्रिय, प्रेममय आत्माका कहानीहरु कति लेखूँ। कल्पनाशीलतामा म फैलिसकेँ। किताब नै बन्छ। बयान अहिले रोकेँ। मेरो प्रेमप्रस्ताव स्वीकार मात्र गर, भावी जीवनका सबै दृष्टान्तहरु प्रेम–पुराण लेख्न योग्य बनाइदिनेछु। आऊ, अमर प्रेमको कथा लेखौँ। बेष्ट सेलर पुस्तकको रचना गरौं। नायक अञ्जान र नायिका तिर्सना। हामी कालजयी प्रेमकथाका पात्र बनौं। आऊ, तिमीलाई सधैं मेरो पवित्र आत्माका पाना अक्षरांकित प्रेमपूर्ण महासागरका मणिरुपी शब्द लिखित निमन्त्रणा छ।

प्रिय, सादर आमन्त्रण! सादर आमन्त्रण!! सादर आमन्त्रण!!!

धन्यवाद!

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्