विश्व विख्यात फोटोपत्रकार लु ग्वाङ बेपत्ता छन् । आफ्ना तस्बिरमा चीनको प्रदुषणको अवस्था र त्यसले निम्त्याएको परिवेषलाई समेट्दै आएका चिनियाँ स्वतन्त्र फोटोपत्रकार लु सन् २०१८ को नोभेम्बरदेखि बेपत्ता छन् ।

विवादास्पद विषयलाई आफ्नो काम मार्फत प्रस्तुत गर्न नहिचकिचाउने सीमित फोटोपत्रकारमा लुको नाम अघि आउँछ । उनले चीनमा प्रदुषणको अवस्था, लागुऔषध दुर्व्यसन, एचआइभी संक्रमणसहितका विवादास्पद विषयमा तस्बिर खिचेका छन् ।

चीन सरकारले विश्वसामु देखाउन नचाहेको पाटो लुले आफ्ना तस्बिरमार्फत देखाउने प्रयास गर्दै आएका छन् । ५८ वर्षका लुले झण्डै चार दशकदेखि चीनमा औद्योगिकरणले पारेको प्रभाव तथा तीव्र आर्थिक वृद्धिका लागि गरिएका प्रयासले ग्रामीण बासिन्दामा पारेको नकारात्मक प्रभावलाई आफ्ना तस्बिरमा समेट्दै आएका छन् ।

यस्तै औद्योगिक क्षेत्रमा बसोबास गर्ने मानिसमा परेको प्रभावलाई पनि लुले आफ्ना तस्बिरमा समेटेका छन् । आफ्नो परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका लु गएको अक्टोबरमा फोटोग्राफी सम्बन्धी कार्यशालाका लागि चीन पुगेका थिए । मुस्लिम बन्दी रहेको ठानिएको खसिनिनीमा फोटोग्राफी कार्यशाला भएको थियो ।

कार्यशालापछि लुले सिचुवान प्रान्तमा रहेका आफ्ना साथी चेनसँग एक च्यारिटी इभेन्टमा सहभागी हुने तयारी गरेका थिए । तर चेनले लुलाई सम्पर्क गर्न सकेनन् र उनकी श्रीमतीलाई लु बारे सोधे । त्यसपछि मात्रै उनी बेपत्ता भएको खुलेको थियो । कार्यशालाका आयोजकसहित लुलाई सुरक्षा अधिकारीले पक्राउ गरेको थाहा हुन आएको छ । उनीहरुमाथि राजनीतिक रुपमा अनुपयुक्त तस्बिर लिएको आरोप छ ।

लुले खिचेका केही तस्बिर, जसमा चीनका प्रदुषण, औद्योगिक विकास र त्यसले पारेको प्रभावको अवस्था चित्रित गरिएका छन् ।