यो हो विश्वकपको सर्वोत्कृष्ट गोल

फ्रान्सका बेन्जामिन पावार्डले अर्जेन्टिना विरुद्ध गरेको सुन्दर गोल रुसमा भएको विश्वकप फुटबलको सर्वोत्कृष्ट गोल ठहरिएको छ ।

अन्तिम १६ को खेलमा पावार्डले स्टनिङ्ग स्ट्राइक गर्दै फ्रान्सका लागि गोल गरेका थिए । डिफेन्डर पावार्डले उत्कृष्ट कला देखाउँदै कर्नरबाट सुन्दर प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आफ्नो वेब साइटमा उत्कृष्ट गोल छनौटका लागि फ्यानबाट भोटिङ्गको आह्वान गरेको थियो । ३० लाखजनाले मत दिएकोमा पावार्डको गोलले सबै भन्दा धेरै मत पाएको हो । रुसमा भएको ६४ खेलमा १६९ गोल भएको थियो ।

त्यसमध्ये पावार्डको गोलले उत्कृष्टताको उपाधि पाएको हो । २२ वर्षका पावार्डले ह्युण्डायी गोल अफ टुर्नामेन्ट अवार्ड पाएका छन् । उनको गोलले खेलमा फ्रान्सले २–२ को बराबरी गरेको थियो । त्यो खेलमा फ्रान्सले ४–३ को जित निकालेको थियो ।

उत्कृष्ट गोलकर्ता बनेका पावार्डले खेलपछि भनेका थिए, ‘मैले यसबारेमा सोचेको पनि थिइनँ ।’

यस्तै जापानसँगको खेलमा कोलम्बियाका आन क्विन्तेरोले गरेको फ्रि–किक गोल उत्कृष्ट गोलको सूचिमा दोस्रो स्थानमा परेको छ । यस्तै अर्जेन्टिनासँगको खेलमा क्रोएसियाका लुका मोड्रिकले गरेको लङ्ग रेन्ज गोल तेस्रो स्थानमा परेको छ ।

साउन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्