कीर्तिमानी टिम काहिलले गरे सन्यासको घोषणा

अस्ट्रेलियाका कीर्तिमानी गोलकर्ता तथा चारपटक विश्वकप खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा भएको विश्वकप फुटबलमा उनी अस्ट्रेलियाको टिममा थिए र यो उनको चौथो विश्वकप थियो ।

काहिलले आफ्नो ट्वीटर ह्याण्डमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सन्यासको घोषणा गर्दै भनेका छन्, ‘देशको प्रतिनिधित्व गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सकिँदैन । तर आजदेखि मैले राष्ट्रिय टिमबाट बिदा लिएको घोषणा गर्छु । अस्ट्रेलियाको जर्सी लगाएको यी वर्षहरुमा पाएको साथ र सहयोगका लागि धेरै धेरै धन्यबाद ।’

उनले अस्ट्रेलियाका लागि १०७ खेलमा ५० गोल गरेका छन् । उनी राष्ट्रिय टिमबाट धेरै खेल खेल्नेको सूचिमा गोलरक्षक मार्क स्चवार्जेर भन्दा दुई खेलले पछि छन् । उनले सन् २००४ को मार्च ३० मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

उनले पछिल्लो पटक खेलेको भनेको रुस विश्वकपमा पेरुसँगको खेल हो । त्यो खेलमा अस्ट्रेलिया २–० ले पराजित भएको थियो । काहिल राष्ट्रिय टोलीबाट धेरै गोल गर्ने खेलाडी हुन्, उनीभन्दा पछि रहेका डामिएन मोरीले २९ गोल गरेका छन् ।

उनी विश्वकपमा गोल गर्ने पहिलो अस्ट्रेलियन खेलाडी पनि हुन् । उनले सन् २००६ को विश्वकपमा जापानलाई ३–१ ले हराउने क्रममा गोल गरेका थिए । उनले सन् २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरे ।

साउन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्