आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वागतमा निस्किए खेलाडी

नेपालगञ्ज – नयाँ वर्षसँगै यही वर्ष नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्वागत गरिएको छ ।

क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जले शनिबार खेलाडी, प्रशिक्षक, पदाधिकारी, खेलप्रेमीलाई सहभागी गराएर प्रभातफेरि निकाल्दै नयाँ वर्षसँगै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वर्ष सुरुवातलाई स्वागत गरेको हो ।

२०७५ को मंसिर २१ देखि २८ गतेसम्म यस क्षेत्रमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भइसकेको छ । प्रतियोगिताका खेलहरु बाँके, बर्दिया र दाङमा हुनेछन् ।

प्रतियोगितामा खेलाइने ३५ खेलमध्ये २० बढी प्रतियोगिता बाँकेमा हुनेछ । बर्दिया र दाङमा केही प्रतियोगिताहरु हुनेछन् । तीनवटै जिल्लामा यतिबेला भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।

नयाँ वर्षको अवसरमा क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालाबाट प्रभातफेरि निकालेको हो । रंगशालाबाट निस्केको प्रभातफेरिले नेपालगञ्ज बजार परिक्रमा गरेको छ ।

राष्ट्रिय झण्डा, ब्यानर बोकेका खेलाडी तथा प्रशिक्षक, खेलप्रेमीहरु सडकमा निस्किदा आठौँ राष्ट्रिय खेलकुदको प्रचार प्रसार भएको आयोजकले दाबी गरेका छन् ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले आठौंका लागि भौतिक पूर्वाधार, खेलाडी प्रशिक्षणसँगै प्रचार प्रसारको पाटोलाई पनि भव्यताका साथ अघि बढाएको बताए ।

‘नेपालगञ्जमा आठौँ खेलकुद प्रतियोगिता हुँदैछ । यसले यहाँको पहिचान बढाउँछ । त्यसैपनि नेपालगञ्ज खेलाडीहरुको शहर हो, अध्यक्ष वलीले भने, हाम्रो ठाउँमा हुने खेल मेलालाई सफल बनाउन सबै लाग्नु पर्छ । सबैलाई तताउने अभियानमा हामी छौं ।’

बैशाख १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्