केवल एक पार्टी प्रमुखले जितेका थिए पहिलो आमनिर्वाचन

२००७ सालको क्रान्तिसँगै नेपाल जहाँनिया राणा शासनको सांग्लोबाट मुक्त भएर प्रजातान्त्रिक बन्यो । २००४ सालमा तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेर राणाले जारी गरेको नेपालको पहिलो संविधान ‘नेपाल सरकार वैधानिक कानून’ लाई खारेज गर्दै नेपालको अन्तरिम विधान २००७ जारी भयो । सो अन्तरिम विधानको भाग ६ लाई निर्वाचन (चुनाउ) भनी छुट्टाइएको छ ।

उक्त संविधानको धारा ६८ मा ‘नेपालको निमित्त एक विधान बनाउने विधानपरिषद्को निर्वाचन गर्नालाई सकेसम्म चाँडै उचित परिस्थिति सिर्जना गर्ने’ र धारा ६९ मा निर्वाचनका लागि कमिशन (आयोग)को बन्दोबस्त गरिएको थियो । उक्त बन्दोबस्त अनुसार नयाँ संविधान निर्माणका लागि विधानपरिषद् (संविधान सभा)को लागि निर्वाचन हुनुपर्ने थियो । तर, लामो समयसम्म पनि निर्वाचन हुन सकेन । एकपछि अर्को मन्त्रीमण्डल फेरिए । राजा त्रिभुवनको निधन भएर महेन्द्र राजा बने । तैपनि निर्वाचन भएन ।

के.आई. सिंह नेतृत्वको सरकार विघटन भएपछि राजालाई निर्वाचनका लागि चौतर्फी दबाब आयो । राजा महेन्द्रले २०१५ साल मंसिर ३० गते सोही वर्षको फागुन ७ गते निर्वाचन हुने घोषणा गरे । तर, निर्वाचन केको थियो भन्ने निश्चित थिएन । त्यतिबेला हालखबर दैनिकमा रिपोर्टिङ गर्ने पुराना पत्रकार भैरव रिसाल सम्झिन्छन्, ‘चुनाव हुने घोषणा त भयो तर केको चुनाव भन्ने निश्चित थिएन ।’ अनिश्चयकै बीचमा पनि चुनावी प्रचार सुरू भयो । ‘सायद दलहरू भित्रभित्रै जानकार थिए तर जनतामा अलमल थियो’ रिसालको तर्क छ । फागुन १ गते नेपालको संविधान २०१५ जारी भएपछि भने सारा अलमल सकियो । संविधानले आम निर्वाचनबाट संसदको गठन हुने प्रावधान गरेको थियो। त्यसमा संविधान सभाको कल्पना पनि गरेको थिएन ।

‘निर्वाचनको तयारी पहिले नै भएकाले फागुन १ गते संविधान लागू भए पनि ७ गते नै निर्वाचन भयो’ रिसाल भन्छन् । २०१५ साल फागुन ७ गतेदेखि शुरू भएको निर्वाचन विभिन्न चरणमा सम्पन्न भयो । त्यसको अन्तिम परिणाम २०१६ साल वैशाख २८ गते आयो । देशकै पहिलो आम निर्वाचनका लागि १०९ वटा निर्वाचन क्षेत्र छुट्टाइएका थिए । ती निर्वाचनका लागि ७८६ जनाले उम्मेदवारी दिएका थिए । नौ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा सहभागी थिए । स्वतन्त्र रूपमा २६८ जनाले उम्मेदवारी दिएका थिए । ४२ लाख ४६ हजार ३ सय ६८ जना मतदाता भएकोमा १७ लाख ९१ हजार ३८१ जनाले मतदान गरेका थिए ।

देशकै पहिलो आम निर्वाचन रोचक प्रसंगहरूले भरिएका छन् । नेपाली काँग्रेसका नेता सुवर्णशमेर राणाले तीन ठाउँमा उम्मेदवारी दिएकोमा तीनै ठाउँमा जिते । उनले निर्वाचन क्षेत्र नं. ५२ (बारा पर्सा मध्य उत्तर), निर्वाचन क्षेत्र नं. ५३ (बारा, पर्सा पूर्वान्त) र निर्वाचन क्षेत्र नं. ९१ (गुल्मी दक्षिण-पश्चिम) मा उम्मेदवारी दिएका थिए ।

त्यस्तै दुई स्थानबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसकै अर्का नेता सुर्यप्रसाद उपाध्याय भने दुवै स्थानमा पराजित भएका थिए । उनले निर्वाचन क्षेत्र नं. ५ (काठमाडौं उपत्यका) र निर्वाचन क्षेत्र नं. १४ (रामेछाप दक्षिण)बाट उम्मेदवारी दिएका थिए । दुवै स्थानमा उनी दोस्रो भए ।

अर्को रोचक प्रसंग हो, निर्वाचनमा उत्रिएका नौ दलमध्ये आठवटा दलका पार्टी प्रमुखले निर्वाचन हारे । निर्वाचन जित्ने नेपाली काँग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला मात्र भए । उनले निर्वाचन क्षेत्र नं. ३२ (मोरङ दक्षिण विराटनगर पश्चिम)बाट उम्मेदवारी दिएका थिए। पत्रकार रिसालका अनुसार उनलाई हराउन दरबारबाट दिलबहादुर श्रेष्ठ र डा. अवधनारायण श्रेष्ठलाई वागी उम्मेदवार बनाइएको थियो । नौ हजार पाँच सय ७९ मत ल्याएर कोइरालाले चुनाव जिते । दिलबहादुर दोस्रा र अवधनारायण तेस्रो भए ।

उक्त निर्वाचनको अर्को रोचक प्रतिस्पर्धात्मक स्थान थियो निर्वाचन क्षेत्र नं. १ (काठमाडौं उपत्यका) । मुख्य प्रतिस्पर्धी काठमाडौंका दुई रैथाने नेवार उम्मेदवार थिएः नेपाली काँग्रेसका चर्चित नेता गणेशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठ । भैरव रिसालका अनुसार पुष्पलाललाई हराउन गणेशमानले लालसिंह महर्जनलाई वागी उठाएका थिए भने गणेशमानलाई हराउन पुष्पलालले पूर्णबहादुर एमएलाई उठाए ।

निर्वाचनमा १० हजार नो सय ८६ मत ल्याएर गणेशमान विजेता भए । पुष्पलालले सात हजार आठ सय ४८ मत ल्याएर दोस्रा भए । पूर्णबहादुर चौथा र लालसिहं सातौं भए । उक्त निर्वाचन क्षेत्रबाट नौजनाले उम्मेदवारी दिएका थिए ।

(यो सामग्री तयार पार्न भुवन लाल जोशी र लियो इ. रोज लिखित ‘डेमोक्रेटिक इन्‍नोभेसन इन नेपाल’ र ग्रीष्मबहादुर देवकोटालिखित ‘नेपालको राजनीतिक दर्पण भाग २’को सहयोग लिइएको छ ।)

यो पनि पढ्नुस्..

पहिलो आमनिर्वाचन संस्मरणः ‘जनताले नै नेतालाई भात खुवाउँथे’ 

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्